काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्काको नाम र दस्तखत प्रयोग गरी झुटो उजुरी दिएको ठहर भएपछि रुकुम पश्चिमका एक व्यक्तिलाई २ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
जरिवाना गरिनेमा आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगर छन् । उनले एबी राई (आङबाबु राई) को नामबाट नेपाल प्रहरीका डीआईजी जोडिएको विषयमा आयोगमा उजुरी दिएका थिए ।
उक्त उजुरीमा नेपाल प्रहरीका डीआईजी बताउने एक व्यक्तिले आफू अध्यक्ष रहेको सहकारीबाट ऋण लिएको र ऋणको भुक्तानी माग्दा आफू डीआईजी भएकाले उजुरी मिलाइदिन ४० लाख रुपैयाँ मागेको उल्लेख थियो । ती व्यक्तिले १५ लाख रुपैयाँ नगद र आफ्नी कान्छी श्रीमतीको नाममा थप चेक लिएको तथा पछि धम्की दिएर रकम मागिरहेको पनि उजुरीमा दाबी गरिएको थियो ।
आयोगले उजुरीमाथि अनुसन्धान गर्दा उजुरीकर्ता भनिएका एबी राईले आफूले उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको बयान दिएका थिए ।
त्यसपछि आयोगले गत असार १७ गते दीपक पुन मगरसँग बयान लिएको थियो । बयानका क्रममा उनले एबी राईको जानकारी र स्वीकृतिविनै उनको नामबाट उजुरी दर्ता गराएको स्वीकार गरेका थिए ।
उक्त घटनामा संलग्न दुवै जनाले ४० लाख रुपैयाँ मागिएको भनिएको घटना नै नभएको बताएपछि अर्कालाई दुःख तथा हैरानी दिने बद्नियतले झुटो उजुरी दिएको ठहर गर्दै मगरलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायतका प्रचलित कानुनी व्यवस्थाअनुसार २ हजार रुपैयाँ जरिवाना गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया