कांग्रेस सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन : गगन थापा

कांग्रेस सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन : गगन थापा


 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वको जिम्मेवारी सामान्य नभएको बताएका छन् । उनले सभापतिको जिम्मेवारीलाई अहंकारको श्रीपेच नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका हुन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपाली कांग्रेसको सभापतिको जिम्मेवारीसँग पार्टीको ऐतिहासिक विरासत र नागरिकका अपेक्षाहरू जोडिएको बताए ।
‘नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी भनेको सानो जिम्मेवारी होइन । बीपी, सुवर्ण, गणेशमान, किसुनजी र गिरिजाप्रसाद कोइरालाहरूले लिनुभएको यो जिम्मेवारीसँग धेरै कुराहरू जोडिएर आउँछन्,’ उनले भने ।
थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अहंकारको श्रीपेचका रूपमा नलिएको स्पष्ट पारे । ‘यो जिम्मेवारी नागरिकप्रतिको दायित्व पूरा गर्नका लागि मलाई एउटा भूमिमा उभ्याएको हो । मलाई अहंकारको श्रीपेच लगाइदिएको होइन भनेर म यो यात्रा सुरु गर्न चाहन्छु,’ उनले भने ।

उनले नेपाली कांग्रेससँग लोकतान्त्रिक आन्दोलनको ठूलो विरासत जोडिएको उल्लेख गर्दै त्यसलाई जोगाउने जिम्मेवारी आफूमा रहेको बताए । साथै, बदलिँदो नेपालको वर्तमान सन्दर्भमा पार्टीलाई समयअनुकूल अगाडि बढाउनु पनि आफ्नो दायित्व भएको उनको भनाइ थियो ।
१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।