एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् ।

यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने प्रक्रियासँगै विदेशी खेलाडीको सहभागिता, एन्टी करप्सन, अम्पायरिङ, मिडिया पहुँच र प्रतियोगिताको सञ्चालनसम्बन्धी विभिन्न मापदण्ड लागू हुने बताए ।

उनका अनुसार आइसीसीले एनपीएल २०२६ का लागि पाँचवटा मुख्य विषयमा अनिवार्य सर्त राखेको छ ।

तीमध्ये अस्वीकृत क्रिकेट प्रतियोगितामा सहभागिता, विदेशी खेलाडीका लागि अनिवार्य प्रमाणपत्र (एनओसी) र भ्रष्टाचार नियन्त्रणका उपाय प्रमुख छन् ।

खड्काले आइसीसीको मान्यता नलिएका तथा सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट स्वीकृत नभएका प्रतियोगितालाई अस्वीकृत क्रिकेटका रूपमा बुझ्नुपर्ने बताए ।

उनका अनुसार एनपीएल २०२६ सुरु हुनुअघिको लगातार छ महिनाको अवधिमा त्यस्ता प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रतियोगितामा खेल्न नपाउने व्यवस्था गरिएको छ ।

‘डोमेस्टिक प्रतियोगिताले आइसीसीको मान्यता पाएको हुनुपर्छ र सम्बन्धित होम बोर्डले पनि स्वीकृत गरेको हुनुपर्छ । होम बोर्डले पनि एप्रुभ नगरेको प्रतियोगितालाई अस्वीकृत क्रिकेट भनिन्छ । एनपीएल सुरु हुनुअघिको छ महिनाको अवधिमा त्यस्तो क्रिकेटमा सहभागी भएका खेलाडी एनपीएलमा खेल्न योग्य हुने छैनन्,’ उनले भने ।

उनले विदेशी खेलाडीका लागि अनिवार्य एनओसीको व्यवस्था पनि लागू हुने बताए । अवकाश लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने उनको भनाइ छ ।

‘आईसीसीको स्वीकृति आइसकेपछि अवकाश लिएका विदेशी खेलाडीले पनि आफ्नो सम्बन्धित सदस्य बोर्डबाट अनिवार्य एनओसी लिनुपर्ने हुन्छ । फ्रेन्चाइज क्रिकेटमा धेरै खेलाडी सहभागी हुने भएकाले यस विषयमा स्पष्टता आवश्यक छ,’ उनले भने ।

खड्काले फ्रेन्चाइज क्रिकेटमा ठूलो रकम र विभिन्न पक्षको स्वार्थ जोडिने भएकाले भ्रष्टाचार नियन्त्रणका उपायलाई विशेष महत्त्व दिनुपर्ने बताए । खेलको निष्पक्षता कायम राख्न पर्याप्त स्रोतसाधन, निगरानी तथा अनुसन्धानको व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरे ।

उनका अनुसार खेलाडी, टोलीका मालिक, फ्रेन्चाइज र प्रतियोगितासँग सम्बन्धित सबै सरोकारवालाको जिम्मेवारी बढाउनेछ । एनपीएलका लागि आईसीसीले पठाएका आवश्यकताहरू क्यानले स्वीकार गरिसकेको पनि उनले जानकारी दिए ।

‘हिजो राति करिब साढे ६ बजे इमेल आउनासाथ ४०–५० मिनेटभित्रै सबै आवश्यकताहरू स्वीकार गरेर इमेल पठाएका थियौँ। अब केही दिनमा समन्वय गरेर यसको औपचारिक अवस्थाबारे जानकारी गराउनेछौँ,’ उनले भने ।

खड्काले आईसीसीको स्वीकृतिसँगै प्रतियोगिताले टी–२० को मान्यता पाउने विषयमा पनि सोमबार साँझसम्म स्पष्ट पार्ने बताए । त्यसका लागि आवश्यक प्रक्रिया पूरा भएपछि आधिकारिक जानकारी सार्वजनिक गरिने उनले उल्लेख गरे ।

उनका अनुसार आगामी दुईदेखि तीन दिनभित्र प्रतियोगितासम्बन्धी थप घोषणा गरिनेछ । नेपाली तथा विदेशी अम्पायरको भूमिका, खेल सञ्चालनका सर्त र निर्णय समीक्षा प्रणाली (डीआरएस) जस्ता विषयलाई प्रतियोगिताको संरचनामा समेट्ने विषयमा काम भइरहेको उनले बताए ।

विदेशी खेलाडीको संख्या बढाइए पनि नेपाली खेलाडीलाई प्राथमिकता दिइने खड्काले स्पष्ट पारे। उनका अनुसार प्रत्येक टोलीले सात नेपाली खेलाडीलाई अनिवार्य रूपमा खेलाउनुपर्ने व्यवस्था छ । विदेशी खेलाडीको छनोट भने सम्बन्धित टोलीमा निर्भर हुनेछ ।

उनले भविष्यमा एसोसिएट राष्ट्रका खेलाडीलाई थप अवसर दिने विषयमा पनि सोच्न सकिने बताए । तर अहिलेका लागि प्रत्येक टोलीमा एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य गर्न नसकिने उनको भनाइ छ ।

एनपीएलमा सञ्चारमाध्यमको पहुँचबारे बोल्दै खड्काले खेलस्थल प्रवेश, पोस्ट म्याच प्रेस कन्फरेन्स, फोटो पत्रकारको काम तथा खेलका दृश्य संकलनसम्बन्धी नियम स्पष्ट बनाइने बताए ।

आईसीसी एसिया सम्मेलनको तयारी

खड्काले एनपीएलसँगै नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने जानकारी पनि दिए । उनका अनुसार नोभेम्बर १९ देखि २१ सम्म हुने तीनदिने सम्मेलनमा एसियाका टेस्ट खेल्ने तथा एसोसिएट राष्ट्रका क्रिकेट पदाधिकारी सहभागी हुनेछन् । सम्मेलनमा क्रिकेटको विकास, उदीयमान क्रिकेट राष्ट्रलाई सहयोग र विभिन्न देशबीच सहकार्य विस्तारबारे छलफल हुनेछ ।

उनले सम्मेलन नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट समुदायसमक्ष एनपीएल र नेपालको आतिथ्य प्रदर्शन गर्ने अवसर भएको बताए । अधिकांश प्रतिनिधि नोभेम्बर १७ सम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।

एनपीएलमा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित व्यक्तित्वलाई सहभागी गराउने तयारी पनि भइरहेको खड्काले बताए । पोखरा एभेन्जर्सले इरफान पठानलाई ब्रान्ड एम्बेसडर घोषणा गरिसकेको र हिमालय स्पोट्र्सले शोएब अख्तरलाई ल्याउने तयारी गरेको उनले उल्लेख गरे ।