काठमाडौं । टिनको छानो भएको कोठाभित्र नाङ्सी तामाङ रातो माटोले भुइँ लिपिरहेकी छन् । माटो सुकेपछि उनी र उनका श्रीमान् सिंहबीर तामाङका लागि बस्न नयाँ घर तयार हुनेछ ।
गत अगस्ट २६ मा रसुवाको खाल्टेमा रहेको उनीहरूको बस्ती हिउँ, पानी र गेग्रानसहित आएको बाढीले बगाएपछि उनीहरू घरबारविहीन भएका थिए ।
आफन्तले फोनमार्फत बाढीको चेतावनी दिएपछि उक्त वृद्ध दम्पतीसँग त्यस दिन लगाएका कपडाबाहेक केही पनि बाँकी रहेन ।
नदी किनारमा बसोबास गर्ने अन्य स्थानीयसँगै उनीहरू पनि ज्यान जोगाउन हतारहतार अग्लो स्थानतर्फ लागे । यसरी उनीहरूले आफ्नो ज्यान बचाउन सफल भए ।
‘मेरो घर बग्यो, म निकै चिन्तित छु । अहिले मसँग केही पनि छैन । लगाउनका लागि कपडा त परै जाओस्, चप्पलसमेत छैन । सबै कुरा बाढीले बगायो । हामी यहाँ आइपुग्दा लगाउने कपडा र चप्पलसमेत थिएन । दुई दिनसम्म खानका लागि केही पनि पाएनौँ । ज्यान जोगाउन हामी यहाँ आएका हौँ,’ धाराबाट पानी ल्याउँदै गर्दा नाङ्सीले एएनआईसँग भनिन् ।
उनी बडा चौतारा अस्थायी आश्रयस्थलमा सरेको छ हप्ताभन्दा बढी भइसकेको छ । सुरुमा दाताले उपलब्ध गराएको पालमा आश्रय लिएकी उनी अहिले दातृ संस्थाले निर्माण गरिदिएको टिनको छानो भएको कोठामा सर्दै छिन् ।
नाङ्सी, उनका श्रीमान् र अगस्ट २६ को विपद्का अन्य प्रभावितहरू अन्ततः नुवाकोटको यस अस्थायी आश्रयस्थलमा आइपुग्नुअघि धेरै पहाड पार गरेर आएका छन् । एक दशकभन्दा केही बढी अवधिमै नाङ्सीले दोस्रोपटक विस्थापित हुनुपरेको छ ।
यसअघि सन् २०१५ को भूकम्पका कारण उनीहरू विस्थापित भएका थिए । उक्त भूकम्पले रसुवा जिल्लाका मैलुङ, तिरु, हाकु र गोगनेका पहाडी गाउँहरूमा ठूलो क्षति पु¥याएको थियो ।
७.८ म्याग्निच्युडको भूकम्पका कारण जमिन कमजोर हुँदै गएपछि पहिरोको जोखिम बढेको थियो । त्यसपछि तामाङ बस्तीका बासिन्दाहरू खाल्टेको नदी किनारमा बसाइँ सर्न बाध्य भएका थिए ।
त्यतिबेला २५० घरपरिवार नदी किनारको बस्तीमा सरेका थिए । सरकारले अस्थायी पुनर्वासका रूपमा व्यवस्था गरेको उक्त बस्ती समय बित्दै जाँदा स्थायी बसोबासस्थलजस्तै बनेको थियो । तर, अगस्टमा आएको हिउँ र चट्टानको पहिरोपछि उक्त समुदाय फेरि नुवाकोटको अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएको छ ।
‘हामी भदौ १० गते (अगस्ट २६) रसुवाबाट भाग्यौँ । त्यसपछि क्रमशः नीलकण्ठ नगरपालिका पुग्यौँ र फेरि लादे फर्कियौँ । त्यहाँ पुगेपछि उचित विद्युत् सुविधा र नुनबिना बाँच्न सकिँदैन भन्ने निष्कर्षमा पुग्यौँ । त्यसपछि महावीर हुँदै पहाड चढेर सिम्ले पुग्यौँ । त्यहाँबाट तल झर्दै अन्ततः यहाँको तामाङ बस्तीमा आइपुग्यौँ । बिदुर नगरपालिका–४ ले हाम्रो अस्थायी बसोबासको व्यवस्था गरेको थियो । त्यसपछि हामीलाई अहिलेको स्थान बडा चौतारामा सारिएको हो । यो सरकारी जग्गा हो र यहाँ हामीलाई बसोबास गराइएको छ,’ नाङ्सीका श्रीमान् सिंहबीरले भने ।
यस विपद्मा तामाङ दम्पतीले बाढीमा परी आफ्ना केही आफन्तसमेत गुमाएका छन्, जसको अवस्था अझै पत्ता लाग्न सकेको छैन । यसैबीच, उक्त बस्तीका अन्य प्रभावितहरूले पनि विपद्मा आफ्ना ३२ जना नजिकका आफन्त गुमाएका छन् । उनीहरू अहिले त्यस घटनाले दिएको मानसिक आघातबाट बाहिर निस्कने प्रयास गरिरहेका छन् ।
तामाङ नेपालका प्रमुख आदिवासी जनजातिमध्ये एक हुन् । यस समुदायको आफ्नो भूमि, बस्ती, जीविकोपार्जन, संस्कृति, भाषा, परम्परा तथा सामाजिक र सांस्कृतिक सम्बन्धसँग लामो समयदेखि गहिरो सम्बन्ध रहँदै आएको छ ।
हिमाली राष्ट्र नेपालका सीमान्तकृत समुदायमध्ये पर्ने तामाङ समुदायले लामो समयदेखि विभिन्न प्रकारका असमानता भोग्दै आएको छ । सन् २०१५ को भूकम्पजस्ता विपद्का बेला यस्तो असमानता अझ स्पष्ट देखिएको थियो । गृह मन्त्रालयका अनुसार उक्त भूकम्पका पीडितमध्ये करिब ३४ प्रतिशत तामाङ समुदायका थिए ।
नेपालको कुल जनसङ्ख्याको करिब ६ प्रतिशत हिस्सा ओगट्ने तिब्बती–बर्मेली भाषा परिवारसँग सम्बन्धित यस समुदायलाई आफ्नो अनुकूलन क्षमता हुँदाहुँदै पनि निरन्तर एक स्थानबाट अर्को स्थानमा सर्न बाध्य पारिँदै आएको छ ।
बडा चौतारा शिविरमा हाल कुल ५११ जना आश्रय लिएर बसिरहेका छन् । तीमध्ये १३९ जना महिला, १६० जना पुरुष, १८ वर्षमुनिका ११५ जना बालक र ९७ जना बालिका छन् । अस्थायी शिविरमा आश्रय लिइरहेका सबैलाई फेरि अर्को स्थानमा सर्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।
‘त्यतिबेला पनि वर्षायाम नै थियो र अत्यधिक वर्षा भइरहेको थियो । हामी आफैँ बाढीको पीडाबाट गुज्रिएका मानिस भएकाले पालमा बस्दा वर्षाले झन् जोखिम थप्यो । अहिले टिनको छानो भएको राम्रो आश्रयस्थल पाएपछि पालमा बसेजस्तो अवस्था नहोला भन्ने आशा गरेका छौँ । तर, हामीलाई यहाँ कति समयसम्म बस्न दिइन्छ भन्ने प्रश्नले दिनप्रतिदिन सताइरहेको छ । यदि यहाँबाट पनि हट्न भनियो भने हामी कहाँ जाने ? कहाँ बस्ने ? भन्ने चिन्ता पनि उत्तिकै छ,’ सिंहबीरले भने ।
यहाँका विपद् प्रभावितहरू आगामी दिनमा जीवनयापन गर्न सकिने केही आधार सुनिश्चित होस् भन्ने उद्देश्यले निरन्तर रोजगारीका अवसर खोजिरहेका छन् । नुवाकोटमा नदी किनारमा बसोबास गर्नेहरूलाई भविष्यको अनिश्चितताले सताएको छ ।
देवीघाटमा गोपालबहादुर सार्कीले बाढीका कारण आफ्नो जुत्ता पसल गुमाएका छन् ।
बाढी आएको ५४ दिनपछि गोपालले देवीघाटको क्षतिग्रस्त क्षेत्रमा अनिश्चितताकै बीच अस्थायी पसल सञ्चालनमा ल्याएका छन् । पहिले उनको स्वामित्वमा रहेको पसलको कुनै नामनिसान बाँकी छैन । भग्नावशेष र धुलाम्मे जमिनमा उनले अस्थायी पसल बनाएका छन् ।
‘यहाँ (देवीघाटमा) मेरो पसल थियो । मैले एकातर्फको ढोका बन्द गर्न सकेँ, तर अर्कोतर्फको बन्द गर्न सकिनँ । मलाई आफ्नो पसल निकै प्यारो थियो, तर मैले पसलभन्दा आफ्नो ज्यानलाई प्राथमिकता दिनुप¥यो । बाढीले पसल नै बगायो । अहिले जीविका चलाउन यही अवस्थामा यहाँ अस्थायी पसल सञ्चालन गरिरहेको छु,’ गोपालले आफ्नो अस्थायी पसल देखाउँदै भने ।
नेपालमा अगस्ट २६ मा चट्टान र हिउँको पहिरोका कारण ‘हिमालयन सुनामी’ भनिएको विनाशकारी बाढी आएको थियो । उक्त विपद्मा हालसम्म १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ६ हजारभन्दा बढीको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन ।
बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा खोजी तथा उद्धार र शव पहिचानसम्बन्धी कार्य जारी छ । बाढीले व्यापक विनाश निम्त्याउँदा ७० हजारभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन् र उनीहरू घरबारविहीन भएका छन् ।
अगस्टमा आएको बाढीले तिब्बतसँग सीमा जोडिएका अग्ला पहाडी भेगका बस्तीहरू पूर्ण रूपमा बगाएको थियो । हिमनदी अचानक फुटेर आएको पानीका कारण बाढीको वेग झन् तीव्र बनेको थियो । बाढीले तीव्र गतिमा बग्दै जाँदा तिमुरे र स्याफ्रुबेँसीजस्ता प्रमुख बस्तीहरू पूर्ण रूपमा तहसनहस भएका छन् ।
क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । पुनर्निर्माण कार्य पूरा गर्न कम्तीमा एक दशक लाग्ने अपेक्षा गरिएको एएनआईले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया