काठमाडौं । फ्रान्समा युवा आन्दोलन चर्किएपछि पेरिससहित विभिन्न सहरमा रातिको कर्फ्यु लगाइएको छ। अधिकारीहरूले प्रदर्शन नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारेका छन्। पेरिसका प्लेस डे ला रिपब्लिक र ल’अल्ली किनमेल क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ। राजधानीका अन्य क्षेत्रमा पनि अनधिकृत भेलामा प्रतिबन्ध लगाइएको छ।
मार्सेली, बोर्डो, नाइस, लियोन र लिललगायत सहरमा समेत आंशिक कर्फ्यु घोषणा गरिएको छ। विद्यालयको अवस्था सुधारको माग गर्दै गत महिना विद्यार्थीले सुरु गरेको प्रदर्शन अहिले देशव्यापी बनेको छ। आन्दोलनकारीले महँगीलगायत अन्य मुद्दा पनि उठाएका छन्।
अधिकारीहरूका अनुसार प्रदर्शनका क्रममा अहिलेसम्म दुई हजार पाँच सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। एएफपीका अनुसार प्रदर्शन नियन्त्रण गर्ने क्रममा करिब एक हजार प्रहरी अधिकारी घाइते भएका छन्।

प्रतिक्रिया