आईसीसी विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने

आईसीसी विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने

नेपाल र भारत ‘ए’बिचको खेल तालिका हेरफेर


काठमाडौँ —

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बरमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता काठमाडौँमा आयोजना गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ। जसमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तालिकामा पुछारमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ बाट शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली समावेश हुनेछन्।
काठमाडौँमा हुने यस प्लेअफ प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरूले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछन्।
नेपाल र भारत ‘ए’बिचको खेल तालिका हेरफेर
विश्वकप छनोट प्लेअफको मिति तय भएसँगै क्यानले यसअघि घोषणा गरेको नेपाल र भारत ‘ए’बिचको शृंखलाको तालिकामा फेरबदल गरेको छ।
यसअघि डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ‘ए’बिच तीन खेलको एकदिवसीय शृंखला काठमाडौँमै हुने तय गरिएको थियो। तर, सोही अवधिमा आईसीसीको आधिकारिक प्रतियोगिता हुने भएपछि उक्त शृंखलाको निर्धारित मिति परिवर्तन गरिएको हो। क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)सँगको आपसी समन्वय र सहमतिमा नयाँ मिति तय गरी छिट्टै सार्वजनिक गरिनेछ।