रूपन्देहीमा महिलाको हत्या गरी सुनका गहना लुटपाट, चार जना पक्राउ

रूपन्देहीमा महिलाको हत्या गरी सुनका गहना लुटपाट, चार जना पक्राउ


बुटवल । रूपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको निर्मम हत्या गरी कानमा लगाएको सुन लुटपाट गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

कात्तिक १२ गते दिउँसो कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा पर्ने धानखेतमा स्थानीय ४१ वर्षीया जुबेदा खातुन धोबी मृत अवस्थामा फेला परेकी थिइन्। छोट्की मजगाँव निवासी धोबीको टाउकोमा कोदालोको बिँडले प्रहार गरिएको र घाँटीमा हँसियाले प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यापछि उनको कानमा रहेका सुनका गहना समेत लुटेर लगिएको थियो।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले कोटहीमाई गाउँपालिका–६ का ४० वर्षीय बैजनाथ यादव, ३० वर्षीय प्रमोदकुमार कुर्मी, २६ वर्षीय मन्जे हरिजन र ३५ वर्षीय धर्मराज यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले २०८३ साल कार्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन प्रहरीलाई म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही, भैरहवाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।