काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालयको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यसलाई यातना गृहजस्तो भएको टिप्पणी गरेका छन् ।
मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसद् बैठक आह्वान गर्न आग्रह गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मुलुकमा विचौलियाको बिगबिगी र सर्वत्र आतंकको अवस्था रहेको बताए ।
‘विचौलियाको बिगबिगी भइरहेको छ, सर्वत्र आतंक छ । कर्मचारीहरूलाई कार्यस्थलबाट ल्याएर, प्रधानमन्त्री कार्यालय त झन् यातना गृहजस्तो भएको अनुभूति सबैले गर्न लागिराखेको बेलामा यी सबैको निकास संसद् बैठकबाटै खोज्नुपर्छ,’ उनले भने ।
सुनसरी–मरीन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्कासम्बन्धी विषयमा दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको घटनातर्फ संकेत गर्दै आङ्देम्बेले यस्तो टिप्पणी गरेका हुन् ।
उनले न्यायालयलगायत विभिन्न निकायसँग सम्बन्धित गम्भीर विषयहरू उठिरहेको भन्दै संसद् बैठक तत्काल बोलाउनुपर्नेमा जोड दिए ।
लामो समयसम्म संसद् बैठक आह्वान नगर्ने र बैठकलाई निरन्तर पछाडि धकेल्दै जाने प्रवृत्तिले विद्यमान समस्याको निकास नदिने उनको भनाइ छ । मुलुकका समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल र समाधान खोज्ने उपयुक्त थलो संसद् नै भएकाले बैठक बोलाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया