काठमाडाै । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै फैलाइएका अनर्गल प्रचारहरू पूर्णतः असत्य र सरकारद्वारा नियोजित रूपमा प्रायोजित भएको गम्भीर आरोप लगाउनुभएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै शर्माले विशेष महाधिवेशन ७ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा पूर्ण रूपमा विधिसम्मत सम्पन्न भई निर्वाचन आयोगले अद्यावधिक समेत गरिसकेको स्पष्ट पार्नुभयो।
पोसाक खरिद घोटाला, सञ्चार गृहमा बर्दीधारी छिराएर गरिएको दमन, इनाम सापकोटा बिचौलिया काण्ड र प्रशासनिक पक्षाघात (Paralysis) बाट जनताको ध्यान मोड्न बालेन सरकारले विपक्षी दलविरुद्ध यस्ता प्रायोजित षड्यन्त्र रचेको शर्माको भनाइ छ। “मिडिया हाउसका गेटमा गाडी तेर्स्याएर प्रेस स्वतन्त्रताको हत्या गर्ने र आफ्ना कमजोरी लुकाउन संवैधानिक मर्ममाथि प्रहार गर्ने यस्ता निरङ्कुश र पपुलिस्ट गतिविधिहरू नेपाली जनताका अगाडि नाङ्गिसकेका छन्,” भन्दै शर्माले सरकारको स्वेच्छाचारी नीतिको कडा भर्त्सना गर्नुभएको छ।

प्रतिक्रिया