प्लेअफ दौडबाट बाहिरियो पोखरा एभेन्जर्स

प्लेअफ दौडबाट बाहिरियो पोखरा एभेन्जर्स


काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा चितवन राइनोजसँग ३० रनले पराजित भएसँगै पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएको छ ।

लगातार चौथो हारको शृंखलाले पोखराको प्लेअफ यात्रा लिग चरणमै टुंगिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा अलआउट भएर १२१ रनमै समेटियो ।

पोखराका लागि अर्जुन कुमालले ४५ रन बनाए । उनले ४३ बलमा ३ चौका र एक छक्का प्रहार गरे । युभराज सामराले १९ र किरण ठगुन्नाले १३ रन जोडे । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

चितवनका रिजन ढकालले ४, कमल ऐरीले ३ तथा, डान मौस्ली, मौसुम ढकाल र कुशल मल्लले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गरेका छन् । उनले १६ बलमा ४ छक्का र २ चौकासहित अविजित ३७ रन बनाएका छन् ।

रवि बोपाराले ३५ रन बनाए । उनले २८ बलमा ३ चौका र एक छक्का प्रहार गरेका छन् ।

ओपनर अर्जुन साउदले २७ बलमा ३१ र डेभिड मलानले २८ बलमा २८ रन बनाए । कुशल मल्लले १३ बलमा ११ तथा डान मौस्लेले ५ बलमा २ रन जोडे ।

पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले २-२ विकेट लिए ।