सुर्खेत । हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ।
गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको हिमपातका कारण लिमी–लाप्चा सडकखण्ड अन्तर्गत करिब ५,२०० मिटर उचाइमा रहेको न्यालुलेक पूर्ण रुपमा हिउँले ढाकिएको छ। सडक अवरुद्ध भएपछि लिमीका बासिन्दालाई खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु ढुवानी गर्न गम्भीर समस्या परेको छ। नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालय सिमकोटको संयुक्त पहलमा मंसिर १९ गतेदेखि हिउँ पन्छाउने काम सुरु गरिएको हो। सडक खुलाएर लिमीवासीको आवतजावत सहज बनाउनुका साथै अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ।
हिउँ पन्छाउने कामको स्थलगत निरीक्षण गर्न नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा र पूर्वाधार विकास कार्यालयका कर्मचारी न्यालुलेक पुगेका छन्। अध्यक्ष लामाका अनुसार समुद्री सतहबाट यति धेरै उचाइमा हिउँ पन्छाउनु निकै चुनौतीपूर्ण रहे पनि प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद काम अघि बढाइएको छ। हिमपातका कारण वर्षेनि लिमी क्षेत्रको सडक सम्पर्क विच्छेद हुने गरेको छ। सडक सञ्चालनमा आएपछि मात्रै स्थानीयको दैनिक जनजीवन सहज हुनेछ।

प्रतिक्रिया