काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामको प्रतिवाद गर्दै जनतामाझ जान आन्दोलन र निर्वाचनको तयारीलाई एकसाथ अघि बढाउने बताएका हुन्।
एमाले समाप्त भयो भन्ने भाष्यलाई आन्दोलन र निर्वाचनमार्फत गलत साबित गर्नुपर्ने उनको भनाइ थियो। उनले देशमा सबैभन्दा सही विचार बोकेको, संगठित, प्रभावशाली, कर्मठ र उज्ज्वल भविष्य भएको पार्टी एमाले मात्रै रहेको दाबी गरे।
अध्यक्ष ओलीले पार्टीमाथि विभिन्न पक्षबाट संयुक्त आक्रमण भइरहेको आरोप लगाउँदै सरकारमा स्वेच्छाचारिता, अधिनायकवादी सोच र फाँसीवादतर्फको यात्रा स्पष्ट देखिएको टिप्पणी गरे।
राज्यका निकायलाई राजनीतिक रूपमा प्रयोग गर्ने, समिति गठन र छानबिनका नाममा अनावश्यक विवाद सिर्जना गर्ने तथा विभिन्न पदमा रहेकाहरूलाई हटाउने काम भइरहेको उनको आरोप थियो।
पार्टीको जिम्मेवारीमा रहेर पार्टीकै मत बदल्ने गतिविधि गर्नु बेइमानी भएको उल्लेख गर्दै ओलीले पार्टीविरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशनसमेत दिए।

प्रतिक्रिया