आधा किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

आधा किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले ६३५.१६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित ४२ वर्षीय चिनियाँ नागरिक झान गुओकिङलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार गत कात्तिक २९ गते बिहान १०ः३० बजे क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं आएका गुओकिङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो ।

चीनको ग्वाङ्दोङका स्थायी बासिन्दा रहेका उनलाई जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्र (अन्डरवेयर) भित्र प्लास्टिकमा बेरेर लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थका दुईवटा डल्ला फेला परेको प्रहरीले जनाएको छ ।

भन्सार छली अवैध रूपमा उक्त पदार्थ नेपाल भित्र्याउन खोजेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद पदार्थसहित गुओकिङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।