बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो


खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयले ‘बहुउद्देश्यीय कभर्ड हल’ निर्माण गर्न देउसी, भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर गत कात्तिक १९ गतेदेखि सुरु गरेको देउसी, भैलो कार्यक्रम यही मङ्िसर–५ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको विभिन्न ठाउँमा गत कात्तिक २९ गते आइतबार आयोजना गरिएको कार्यक्रममा रु सात लाख सात हजार सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर राईले जानकारी दिनुभयो ।

यसअघि गत कात्तिक–१९ गतेदेखि २२ गतेसम्म तराईका विभिन्न ठाउँमा आयोजना गरिएको देउसी, भैलो कार्यक्रममा रु १८ लाख सङ्कलन भएको छ ।

सांस्कृतिक कार्यक्रमसहितको देउसी, भैलो कार्यक्रम उदयपुरको बसाहा, मोरङको विराटनगर, लेटाङ, सुनसरीको धरान, इटहरी र तरहरामा आयोजना गरिएको थियो ।

त्यसैगरी, गत कात्तिक २० देखि २२ गतेसम्म जालपामा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा रु एक लाख ७० हजार रकम सङ्कलन भएको छ ।

विद्यालयको प्राङ्गणमा यही मङ्सिर–५ गते औपचारिक रुपमा समापन गरिने देउसीभैलो कार्यक्रममा हालसम्म रु २६ लाख ७७ हजार सङ्कलन भएको विद्यालयले जनाएको छ । फरकफरक तीन टोली बनाएर देउसीभैलो कार्यक्रम सुरु गरिएको विद्यालयले एक टोलीले गाउँ तथा दुई टोलीले पूर्वी सहरमा कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यालयले निर्माण गर्न लागेको बहुउद्देश्यीय कभर्ड हलका लागि करिब रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सार्जन राईले जानकारी दिनुभएको छ ।

“देउसी, भैलोबाट सङ्कलन भएको रकम र सङ्घ, प्रदेश तथा स्थानीय तहगरी तीनै तहको सरकारलाई कर्भड हल निर्माणका लागि औपचारिक रुपमा अनुरोध गर्ने योजना बनाइएको छ ।

खेलकुदका कार्यक्रमले विद्यार्थीको पढाइसँगै सर्वाङ्गीण विकासमा ठूलो सहयोग पुग्ने गर्छ”, उहाँले भन्नुभयो, “विद्यालयमा विद्यार्थीका लागि आवश्यक खेलमैदान तथा कार्यक्रम सञ्चालन गर्ने सभाहल छैन । दान, दक्षिणा सङ्कलनबाटै बहुउद्देश्यीय कर्भड हल निर्माण गर्ने योजनासहित यस वर्षको तिहारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको हो ।”

विद्यालयले सञ्चालन गरेको देउसी, भैलोमा जालपाका शिक्षक, विद्यार्थी, अभिभावक तथा बूढापाका सहभागी छन् । दान/दक्षिणा सङ्कलन तथा सङ्घसंस्थाको सहयोगमा जम्मा भएको रकमले निर्माण गरिने बहुउद्देश्यीय कभर्ड हलमा सांस्कृतिक कार्यक्रमका साथै कबड्डी, मार्सल आर्ट, भलिबल, बास्केटबल, ब्याटमिन्टन र टेबलटेनिस खेल सञ्चालन गरिने विद्यालयले जनाएको छ ।