काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।
सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ३ चौका र एक छक्कासहित ५२ रन बनाए ।
इशान पाण्डेले ३३ बलमा २७ रन बनाए । उनी १४.१ ओभरमा रनआउट भए । थारिन्दु रत्नायके १ रनमा आउट भए । विनोद भण्डारीले ३ र थनुका दबारेले ३ रन बनाए भने जर्ज मन्से पहिलो बलमै आउट भएका थिए ।
लुम्बिनी लायन्सका रुबेन ट्रम्पेलम्यान र शेर मल्लले समान २-२ विकेट लिए ।
ट्रम्पेलम्यानले ४ ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । शेर मल्लले ४ ओभरमा २७ रन दिएर दुई विकेट हात पारे ।
त्यस्तै, अभिषेक गौतमले ४ ओभरमा ११ रन खर्चेर एक विकेट लिए । किशोर महतोले एक विकेट हात पारे ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्ने अवसर पाउने छ ।
इलिमिनेटरमा भोलि काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने छ । इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । फाइनल खेल मङ्सिर ५ गते हुने छ ।

प्रतिक्रिया