स्वास्थ्य मन्त्रालयले भन्यो – जेन जी घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ

स्वास्थ्य मन्त्रालयले भन्यो – जेन जी घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ


काठमाडौं । सरकारले २०८२ भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा घाइते भएकाहरूको देशभरका अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने निर्णयअनुसार देशभरका अस्पतालमा व्यवस्था मिलाइएको जनाएको हो ।

मन्त्रालयका अनुसार घाइतेको उपचारलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन उपचारसम्बन्धी कार्यविधिसमेत परिमार्जन तथा संशोधन गरिएको छ । संशोधित कार्यविधिअनुसार घाइतेको उपचारमा लागेको खर्च सम्बन्धित अस्पताललाई शोधभर्ना दिने व्यवस्था गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा उपचाररत घाइतेले पनि निःशुल्क उपचार सेवा पाउने मन्त्रालयले जनाएको छ ।

घाइतेको स्वास्थ्य अवस्थाअनुसार आवश्यक उपचार, थप उपचार र फलोअप सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

उपचारका क्रममा कुनै समस्या वा अन्योल भएमा मन्त्रालयले निःशुल्क हटलाइन नम्बर १११५ वा हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।