काठमाडौ । अमेरिकी राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार विस्फोट गराएर राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीलाई निशाना बनाउने योजना इरानले बनाएको सूचना अमेरिकी गुप्तचर निकायले प्राप्त गरेको छ। सीएनएनले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, सम्भावित आक्रमणको सूचनापछि अमेरिकी सुरक्षा निकायले राजधानीको सुरक्षा व्यवस्था कडा पार्ने र आक्रमण रोक्ने उपायबारे उच्चस्तरीय छलफल गरिरहेका छन्।
गुप्तचर स्रोतका अनुसार इरानको सम्भावित योजनामा आक्रमणका स्थान र लक्षित व्यक्तिसमेत उल्लेख छन्। तर इरानले आक्रमण गर्ने निर्णय गरिसकेको वा त्यसका लागि जनशक्ति परिचालन गरेको प्रमाण फेला परेको छैन। ह्वाइटहाउसकी प्रवक्ता लरेन बिसले अमेरिकाले सबै सम्भावित खतरामाथि निगरानी गरिरहेको बताएकी छन्। उनले अमेरिकी भूमिमा तत्काल विश्वसनीय आक्रमणको खतरा नरहेको स्पष्ट पारेकी छन्।
अमेरिकी अधिकारीहरूले पछिल्लो सूचनालाई इरानको बढ्दो आक्रामक रणनीतिको संकेतका रूपमा लिएका छन्। अमेरिका र इरानबीच सैन्य तनाव चर्किरहेका बेला तेहरानले अमेरिकी भूमिभित्रै आक्रमणको विकल्पबारे सोचिरहेको हुन सक्ने उनीहरूको बुझाइ छ। एक अमेरिकी अधिकारीका अनुसार इरानसँग यस्तो आक्रमण गर्न आवश्यक जनशक्ति र क्षमता छ वा छैन भन्ने विषयमा भने अझै छलफल भइरहेको छ।
यसैबीच, अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता जारी रहे पनि उल्लेखनीय प्रगति हुन सकेको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता युद्ध चाँडै अन्त्य हुने बताएका थिए। तर सम्भावित आक्रमणको खतरालाई ध्यानमा राख्दै अमेरिकी सुरक्षा निकायले पछिल्लो एक सातादेखि पटकपटक बैठक गरिरहेका छन्। यसअघि सम्भावित इरानी खतरालाई ध्यानमा राख्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टलाई सैन्य आवासमा सारिएको थियो।
इरानले अमेरिकी अधिकारीलाई निशाना बनाउने प्रयास गरेको यो पहिलो घटना भने होइन। सीएनएनका अनुसार ट्रम्पको पहिलो कार्यकालदेखि नै इरानले वर्तमान तथा पूर्वअमेरिकी अधिकारीलाई लक्षित गर्ने प्रयास गर्दै आएको छ। सन् २०२४ मा ट्रम्पको हत्या गर्न सुपारी दिने योजना सार्वजनिक भएको थियो।
पछिल्लो गुप्तचर सूचनाले इरानले सम्भावित आक्रमणको दायरा अमेरिकी भूमिसम्म विस्तार गर्ने विकल्पबारे सोचिरहेको हुन सक्ने देखाएको छ। यद्यपि, आक्रमणको निर्णय भइसकेको वा कार्यान्वयनको तयारी भइरहेको पुष्टि भएको छैन।
स्रोत : सीएनएन

प्रतिक्रिया