इनम सापकोटा प्रकरण : फेरि इजलासमा फर्किए प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल

इनम सापकोटा प्रकरण : फेरि इजलासमा फर्किए प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल


काठमाडौँ । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि इजलासबाट अलग रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाँल नियमित सुनुवाइमा फर्किएका छन् ।

तिहार तथा छठ पर्वको बिदापछि मंगलबार सर्वोच्च अदालतको नियमित कामकारबाही सुरु भएसँगै प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाँल पनि इजलासमा सहभागी भएका हुन् । सर्वोच्च अदालतले मंगलबारका लागि सार्वजनिक गरेको पेसी सूची (कजलिस्ट) मा दुवै न्यायाधीश संयुक्त इजलासमा बसेको देखिएको छ ।

प्रधानन्यायाधीश शर्मा नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँगको संयुक्त इजलासमा सहभागी भएका छन् । त्यस्तै, न्यायाधीश फुयाँल न्यायाधीश गोकर्ण डाँगीसँगको संयुक्त इजलासमा बसेका छन् ।

बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइलबाट बरामद ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरूको भूमिकामाथि प्रश्न उठेको थियो । उक्त म्यासेजमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाँलको नामसमेत उल्लेख भएपछि उनीहरू विवादमा तानिएका थिए ।

म्यासेज सार्वजनिक भएलगत्तै प्रधानन्यायाधीश शर्मा इजलासमा सहभागी भएका थिएनन् भने न्यायाधीश फुयाँल पनि बिदामा बसेका थिए । यसले सर्वोच्च अदालतको न्यायिक कामकारबाही र न्यायाधीशहरूको भूमिकाबारे थप चासो र बहस सिर्जना गरेको थियो ।

सापकोटाको मोबाइलबाट प्राप्त भनिएका सन्देशमा सर्वोच्च अदालतकी अर्की न्यायाधीश शारंगा सुवेदीको नामसमेत जोडिएको थियो । यससँगै सर्वोच्च अदालतका न्यायाधीश र कथित बिचौलियाबीचको सम्बन्धबारे सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको थियो ।

घटनाबारे अध्ययन गरी आवश्यक निष्कर्ष निकाल्न नेपाल बार एसोसिएसनले समिति गठन गरेको छ । तर, समितिमा सहभागी हुन कानुन व्यवसायीले अस्वीकार गरेका छन् । यसका कारण घटनाको अध्ययन प्रक्रिया र त्यसबाट आउने निष्कर्षबारे समेत अन्योल देखिएको छ ।

विवादमा जोडिएका न्यायाधीशहरू नियमित इजलासमा फर्किएसँगै सर्वोच्च अदालतको न्यायिक कामकारबाही पुनः नियमित लयमा फर्किएको छ । यद्यपि, सापकोटाको मोबाइलबाट प्राप्त भनिएका सन्देशको आधिकारिकता, त्यसमा उल्लेखित विषयवस्तु र न्यायाधीशहरूसँगको भनिएको सम्बन्धबारे उठेका प्रश्नको निरूपण हुन बाँकी छ ।