ओलीले दिए आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन

ओलीले दिए आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् । उनले आवश्यक परे जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनको मानसिकतासहित तयार रहन निर्देशन दिएका हुन् ।

उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्र नहुने भन्दै असह्य परिस्थिति सिर्जना भएपछि तत्काल आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताए । अहिलेको प्रतिकूल वातावरण र गतिविधिले आफूहरू केही पछाडि धकेलिए पनि त्यस्तो अवस्था सधैँ कायम नरहने उनको भनाइ थियो ।

ओलीले आत्मविश्वास र मनोबलका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे । चुनावको माध्यमबाट पार्टी बनाउने नाममा लागेकाहरूविरुद्ध पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा विजयी हुने उनको दाबी थियो ।

उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति पनि असन्तुष्टि जनाए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले अहिलेसम्म फैसला गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । समयमै न्याय नपाउनु र ढिलो न्याय पाउनु न्याय नपाउनुजस्तै भएको उनको टिप्पणी थियो । यद्यपि, अदालतका विषयमा धेरै नबोल्ने उनले बताए ।

अध्यक्ष ओलीले जस्तोसुकै परिस्थिति आए पनि पार्टी फेरि उठ्ने, पुनर्गठन हुने र अघि बढ्ने दृढता व्यक्त गरे । उनले आगामी दिनमा जनताको घरदैलोमा पुग्न, किसान तथा सर्वसाधारणसँग संवाद गर्न र पार्टीलाई थप सशक्त बनाउँदै देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।