काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट खेलाडीका रूपमा संन्यास लिएका छन् । उनले सन् २०२७ को आईपीएल सिजनअघि चेन्नई सुपर किंग्स (सीएसके) को टिम मेन्टरको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यससँगै आईपीएलमा १८ सिजन लामो उनको असाधारण खेलजीवन अन्त्य भएको छ । धोनीको खेलजीवन चेन्नई सुपर किंग्सको पहिचान र सफलतासँग अभिन्न रूपमा जोडिएको थियो ।
चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिवासनले फ्रेन्चाइजका लागि धोनीको महत्त्व र झन्डै दुई दशकदेखि कायम उनीहरूबीचको विश्वासपूर्ण सम्बन्धबारे चर्चा गरेका छन् ।
‘एमएस धोनीबिना सीएसकेको अस्तित्व कल्पना गर्न सकिँदैन । झन्डै दुई दशकदेखि हामीले सफलता, असफलता र विभिन्न उतारचढावका बीच सँगसँगै यात्रा गरेका छौँ,’ श्रीनिवासनले भनेका छन् ।
उनले थप भनेका छन्, ‘हाम्रो सम्बन्ध बलियो हुनुको एउटै कारण छ, हामीले एकअर्काको नियतमाथि कहिल्यै प्रश्न उठाएनौँ । यही विश्वासले यो यात्रा सम्भव बनाएको हो ।’
‘सन् २००८ मा मैले धोनीलाई सीएसकेको टोलीमा राख्न जोड दिएको थिएँ । त्यो मेरो सबैभन्दा राम्रो निर्णय साबित भयो । फ्रेन्चाइजका लागि उनले हासिल गरेका उपलब्धिका कारण मात्र होइन, उनी कस्तो व्यक्ति हुन् भन्ने कारणले पनि त्यो निर्णय उत्कृष्ट थियो,’ उनले भनेका छन् ।
श्रीनिवासनले धोनी सधैँ सीएसकेको पहिचानको हिस्सा रहने र चेन्नई उनको घरजस्तै रहने बताएका छन् ।
धोनीको संन्याससँगै आईपीएल इतिहासको एउटा महत्त्वपूर्ण अध्याय पनि समाप्त भएको छ । सन् २००८ मा आईपीएलको पहिलो संस्करणदेखि खेलेका उनले चेन्नईलाई पाँचपटक उपाधि जिताएका थिए । उनको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो ।
आईपीएलमा २७८ खेल खेलेका विकेटकिपर ब्याटर धोनीले ३८.३० को औसत र १३७.४५ को स्ट्राइक रेटमा कुल ५ हजार ४३९ रन बनाएका छन् । उनले २४ अर्धशतक प्रहार गरेका छन् । उनको उच्चतम स्कोर अविजित ८४ रन हो । आईपीएलमा उनले २६४ छक्का प्रहार गरेका छन् ।
धोनीले आईपीएल करिअरमा चेन्नई सुपर किंग्स र राइजिङ पुणे सुपरजायन्ट गरी दुई टोलीबाट खेलेका थिए । चेन्नईमाथि दुई सिजन प्रतिबन्ध लागेका बेला उनले सन् २०१६ र २०१७ मा पुणेको टोलीबाट खेलेका थिए ।
धोनीको कप्तानीमा चेन्नई १० पटक आईपीएल फाइनल पुगेको थियो भने पाँचपटक उपाधि जितेको थियो । उनले सन् २०२४ को सिजनअघि कप्तानको जिम्मेवारी छाड्दै ऋतुराज गायकवाडलाई नेतृत्व सुम्पिएका थिए । त्यसपछि पनि उनी टोलीको ड्रेसिङ रुममा प्रभावशाली उपस्थितिका रूपमा रहँदै आएका थिए ।
खेलाडीका रूपमा संन्यास लिए पनि धोनीको चेन्नईसँगको सम्बन्ध भने अन्त्य हुने छैन । मेन्टरको भूमिकामा रहँदै उनले आफ्नो अनुभव र नेतृत्व क्षमतालाई टोलीका लागि उपयोग गर्नेछन् । मैदानमा उनको अनुपस्थिति भए पनि टोलीले उनको अनुभवबाट लाभ लिन सक्नेछ ।
झन्डै दुई दशकदेखि धोनी र चेन्नई सुपर किंग्स एकअर्काका पर्यायजस्तै बनेका छन् । अब फ्रेन्चाइजको विरासत निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका धोनीले त्यसको भविष्य निर्माणमा सहयोग गर्ने नयाँ जिम्मेवारी पाउनेछन् ।

प्रतिक्रिया