सुस्ताको आवाज प्रधानमन्त्री वालेनले भारत समक्ष उठाउन सक्दैनन् : आदम खाँ

सुस्ताको आवाज प्रधानमन्त्री वालेनले भारत समक्ष उठाउन सक्दैनन् : आदम खाँ


काठमाडौं । नवलपरासी पश्चिमको सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) को भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणका क्रममा सुस्ताको समस्या र त्यहाँका नागरिकको आवाज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाउन नसक्ने बताएका हुन् ।

नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा बोल्दै खाँले प्रधानमन्त्री शाहले सुस्ता बचाउ अभियानलाई बेवास्ता गरेको आरोप लगाए । सुस्ताको समस्या समाधानका लागि सरकारले चासो नदेखाएको भन्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणले सुस्तावासीलाई थप त्रसित बनाएको बताए ।

उनले सुस्तावासी लामो समयदेखि दोहोरो समस्याको सामना गर्न बाध्य भएको उल्लेख गरे । एकातिर नारायणी नदीको कटानले बस्ती र जमिन जोखिममा परेको छ भने अर्कोतिर भारतीय पक्षबाट विभिन्न किसिमका दुःख र सास्ती खेप्नुपरेको उनको भनाइ थियो ।

‘हामी सुस्तावासी एकातिर नारायणी नदीको कटानको मारमा परिरहेका छौँ भने अर्कोतिर भारतले दिनानुदिन दुःख दिने काम गरिरहेको छ,’ उनले भने ।

खाँले सुस्ताको सीमा रक्षाका लागि स्थानीय बासिन्दाले लामो समयदेखि संघर्ष गर्दै आएको पनि बताए । उनका अनुसार राजा महेन्द्रले सुस्ताको संरक्षण र सीमा रक्षाका लागि स्थानीय जनतालाई वीरताको भावना र हौसला प्रदान गरेपछि नेपाली नागरिक त्यहाँ बसोबास गर्दै आएका हुन् ।

सुस्ताको भूमि रक्षाका लागि स्थानीय बासिन्दाले निरन्तर संघर्ष गरिरहेको अवस्थामा सरकारले उनीहरूको समस्या र आवाजलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई सुस्ताको समस्या उठाउने अवसरका रूपमा लिनुपर्ने भए पनि सरकारले अभियानलाई नै बेवास्ता गरेको आरोप लगाए । सुस्तावासीले भोग्दै आएका सीमा समस्या, नदी कटान र सुरक्षासम्बन्धी विषयमा नेपाल सरकारले गम्भीर पहल गर्नुपर्ने खाँको माग छ ।

सुस्तावासीले लामो समयदेखि सीमा क्षेत्रको संरक्षण, नारायणी नदीको कटान नियन्त्रण तथा आफ्नो भूमि रक्षाका लागि राज्यको प्रभावकारी उपस्थिति माग गर्दै आएका छन् ।