दैलेख । दैलेखमा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमती र दुई सन्तानको हत्या गरेका छन् । आफ्नै श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गर्ने चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शनिबार बिहान सामान्य घरायसी विवादका क्रममा अम्बरले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिश्मामाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेका थिए ।
बञ्चरो प्रहारबाट टाउकोमा गम्भिर चोट लागेका तपेन्द्र र करिश्मालाई उपचारका लागि तत्काल नगर अस्पताल दुल्लु पुर्याइएको थियो । चिकित्सकले बिहान ११ः१० बजे दुवैलाई मृत घोषणा गरेका थिए ।
गम्भिर घाइते मनिषाको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएकोमा दिउँसो २ः१० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलनको भने उपचार भइरहेको छ ।
घरभित्रै भएको यो हृदयविदारक घटनाले चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानीखोला गाउँ शोकमा डुबेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया