प्रधानमन्त्री शाह दिल्ली प्रस्थान

प्रधानमन्त्री शाह दिल्ली प्रस्थान


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दक्षिणी छिमेकी भारतको दुईदिने राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री भारत भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री शाह नेपाल वायु सेवा निगमको विमानमार्फत दिल्ली उडेका हुन् । शाहको भ्रमण दलमा दुई मन्त्रीसहित ३५ जना उच्चपदस्थ अधिकारी छन् । यस्तै ५१ जना उद्योगीहरू पनि प्रधानमन्त्रीसँगै भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमान व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्र, नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्की, परराष्ट्रसचिव अमृतबहादुर राई, उद्योग वाणिज्य र आपूर्ति सचिव रुद्रसिंह तामाङलगायत छन् ।

प्रधानमन्त्री शाह पहिलोपटक राजकीय भ्रमणमा भारत जाँदा उनले यसअघिका विभिन्न परम्परा र प्रचलन तोडेका छन् । यसअघि यसप्रकारका विदेश भ्रमणहरूमा प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरू, पूर्वपररारष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू, राजनीतिक दल तथा विज्ञहरूसँग परामर्श गर्ने गरेको भए पनि वालेनले यो परम्परा तथा प्रचलन तोडेका छन् । उनले भारत भ्रमणबारे यसप्रकारका कुनै छलफल गरेनन् ।

अझ राष्ट्रप्रमुख राष्ट्रपतिसँग पनि विदेश भ्रमणबारे विफ्रिङ गर्ने प्रचलन पनि वालेनले तोडेका छन् । उनले विमानस्थलमा सेनाबाट सलामी ग्रहण गर्ने प्रचलनसमेत तोडेका छन् । वालेनको विदाइमा ऊर्जामन्त्री विराज श्रेष्ठ विमानस्थाल पुगेका थिए ।

भारतमा रहँदा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् भने भारतीय राष्ट्रपति द्रौपति मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् । यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् ।

दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह भोलि साँझ स्वदेश फर्किनेछन् । शाह भारतमा करिब २५ घण्टा रहनेछन् ।