दूरसञ्चार क्षेत्रलाई भ्रष्टाचारको अखडाका रूपमा हेरियो, छवि सुधार्नुस्ः मन्त्री तिमिल्सिना

दूरसञ्चार क्षेत्रलाई भ्रष्टाचारको अखडाका रूपमा हेरियो, छवि सुधार्नुस्ः मन्त्री तिमिल्सिना


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई कडा निर्देशन दिनुभएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै मन्त्री तिमिल्सिनाले राजधानी काठमाडौँमै फोन नलाग्ने र प्रतिबद्धताअनुसारको इन्टरनेट गति नपाउने समस्या गम्भीर रहेको बताउनुभएको हो।
गुणस्तरीय सेवा विलासिता नभई नागरिकको आधारभूत आवश्यकता भएको स्पष्ट पार्दै उहाँले लागत घटाएर नाफा कमाउने मात्र सोच नराखी सम्झौताअनुसारको सेवा दिन सेवा प्रदायकलाई सचेत गराउनुभयो।
साथै, अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्र सकिँदा पनि व्यवसाय विस्तार गर्ने र कानुन उल्लङ्घन गर्ने कम्पनीमाथि पत्राचार मात्र नगरी कानुनी अधिकार प्रयोग गरेर कडा कारबाही गर्न उहाँले प्राधिकरणलाई आग्रह गर्नुभएको छ।