काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई उक्त जिम्मेवारी दिएका हुन् ।
महोत्तरीको प्रमुख जिल्ला अधिकारी रहेका यादव मंसिर ४ गते अर्थ मन्त्रालयमा सरुवा भएका थिए । विभागका तत्कालीन महानिर्देशक निर्मल ढकाल वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएपछि रिक्त पदमा यादवलाई पठाइएको हो ।
यस्तै, अर्थमन्त्री वाग्लेले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखाको जिम्मेवारीमा खटाउने निर्णय पनि गरेका छन् । मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनी अर्थ मन्त्रालयमा सरुवा भएकी थिइन् ।
महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएपछि रिक्त पदमा शर्मालाई खटाइएको हो ।

प्रतिक्रिया