न्यायाधीशहरूको बिचौलियासँग सम्बन्धबारे सर्वोच्चको फुलकोर्टले के निर्णय गर्‍यो ?

न्यायाधीशहरूको बिचौलियासँग सम्बन्धबारे सर्वोच्चको फुलकोर्टले के निर्णय गर्‍यो ?


काठमाडौं । बिचौलियासँग न्यायाधीशहरूको सम्बन्ध रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार तथा विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भlर ध्यानाकर्षण भएको जनाउँदै सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पाँचबुँदे निर्णय गरेको हो ।

पूर्ण बैठकले सार्वजनिक भएका विषयमा कुनै पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढङ्गबाट संविधान तथा कानुनबमोजिम छानबिन गर्न र सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न तथा सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको सर्वोच्चले जनाएको छ ।

तर, छानबिनको निष्कर्ष आउनुअघि नै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्चले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचारले आमनागरिक तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर पर्न नहुने पूर्ण बैठकको ठहर छ ।

सर्वोच्चले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको उल्लेख गर्दै यसमा अडिग रहन सबैलाई आग्रह गरेको छ ।

यसैगरी, सार्वजनिक भएका समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाकर्मीलाई आग्रह गरिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर बिचौलियासँगको सम्बन्ध र विभिन्न प्रकरणबारे समाचार सार्वजनिक भइरहेका बेला पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।