काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई पराजित गर्दै पहिलो जित निकालेको छ ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
काठमान्डुका लागि राशिद खानले सर्वाधिक ५० रन बनाए । उनले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान करण केसीले २० बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए ।
त्यस्तै जहान्दाद खानले अविजित २२, मोहम्मद आदिल आलमले २० र डेभिड वार्नरले १६ रन बनाए ।
कर्णालीका सोमपाल कामी र हुसैन तलातले समान २ विकेट लिए । नन्दन यादव र मार्क वाटले १–१ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।
कर्णालीका लागि अर्फुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै हुसैन तलातले ४० रनको योगदान दिए । उनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे ।
पवन सर्राफ २४ बलमा ३० रन बनाउँदै अविजित रहे । मार्क वाटले २० बलमा १७, दीपक डुम्रेले ६ बलमा ८ र जिसान आलमले ५ बलमा ७ रन बनाए । गुल्शन झाको नाममा २० रन रह्यो ।
कर्णालीले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । पहिलो विकेटका लागि जिसान र अर्फुलले २० रनको साझेदारी गरे । अर्फुलले त्यसपछि मार्क वाटसँग दोस्रो विकेटका लागि ४६ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
काठमान्डु गोर्खाजका करण केसीले २ तथा शाहब आलम, जहान्दाद खान, देव शाह र सन्तोष यादवले समान १-१ विकेट लिए ।
यो काठमान्डुको प्रतियोगितामा पहिलो जित हो भने कर्णालीको पहिलो हार हो ।

प्रतिक्रिया