काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
मंगलबार दुई पार्टीबीच कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रिया अगाडि बढाउन १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ ।
सहमति अनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने छ । पार्टीको तात्कालिक कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ ।
दुई पार्टीबीचको सहमतिमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने जनाइएको छ । समय र परिस्थितिअनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने तथा सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा उपयोग गरिने सहमति भएको छ ।
एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा संगठनात्मक समायोजन गरिनेछ ।
त्यस्तै, सबै तहका पार्टी समिति र जनसंगठनमा सहमतिका आधारमा एकता तथा समायोजन गरिने सहमति भएको छ । यस्तो समायोजनको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने सहमति पत्रमा उल्लेख छ ।
दुई पार्टीबीचको यो सहमतिले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि साझा राजनीतिक तथा संगठनात्मक आधार तयार गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया