भारतमा आगलागीबाट एकै परिवारका ६ जनाको मृत्यु

भारतमा आगलागीबाट एकै परिवारका ६ जनाको मृत्यु


काठमाडौं । भारतको मध्यप्रदेशस्थित सिवनी जिल्लामा सोमबार बिहान सुनचाँदी व्यवसायीको तीनतले घरमा भीषण आगलागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला र एक नाबालकसमेत छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार दीपावलीको भोलिपल्ट बिहान ४ बजेदेखि ४ः३० बजेको बीचमा छपारा सहरको महावीर वार्डस्थित जैन मन्दिरनजिकै रहेको सुनचाँदी व्यवसायी कुन्दनलाल सोनीको घरमा आगलागी भएको हो ।

घटनाका बेला घरमा १० जना उपस्थित थिए ।

मृत्यु हुनेमा ७५ वर्षीय कुन्दनलाल सोनी, उनकी ६५ वर्षीया पत्नी राजकुमारी सोनी, ४२ वर्षीया रितु सोनी, ४० वर्षीया स्मृति सोनी, ४५ वर्षीय सूर्य सोनी र १६ वर्षीय आदित्य सोनी रहेका छन् ।

घटनास्थलमा उपस्थित प्रहरी उपरीक्षक अपूर्व भलावीले पीटीआईसँग टेलिफोनमा कुरा गर्दै छ जनाको मृत्यु भएको र चार जनालाई उद्धार गरिएको जानकारी दिए ।

उनका अनुसार दमकल र उद्धार टोलीले पछि आगो नियन्त्रणमा लिएका थिए ।