अर्को प्रदेशमा पनि कांग्रेसको सरकार ढल्यो, मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

अर्को प्रदेशमा पनि कांग्रेसको सरकार ढल्यो, मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा


जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि आज पदबाट राजीनामा दिएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरे । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री यादवले विश्वासको मत पाउने अवस्था कमजोर बनेको थियो ।

यो वर्ष कांग्रेसको यसअघि वागमती र सुदूरपश्चिममा पनि सरकार ढलेको थियो । अब कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेशमा मात्र सरकार छ ।

मुख्यमन्त्री यादवले अङ्कगणितीय हिसाबले पदमा रहनुभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै राजीनामा दिएको बताए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

मुख्यमन्त्री यादवको राजीनामापछि मधेश प्रदेशमा अब कुन दलको नेतृत्वमा सरकार गठन हुने भन्ने टुङ्गो लागेको छैन ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।