लुम्बिनी जितसहित शीर्ष स्थानमा, काठमाण्डु र चितवन पनि प्लेअफमा

लुम्बिनी जितसहित शीर्ष स्थानमा, काठमाण्डु र चितवन पनि प्लेअफमा


काठमाडौं । एनपीएलको आज भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्समाथि ४ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

१६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक थियो । तर, विराटनगरका रुपेश कुमारले पहिलो बल नो बल गरे । त्यस बलमा अमेरिकन खेलाडी शेख अलीले छक्का प्रहार गरी प्लेअफमा पुग्ने विराटनगरको योजनामा पानी खन्याइदिए । तर शेख अली आउट भएपछि खेलमा ट्वीस्ट देखिएको थियो ।

तर रुबमेन ट्रम्पलमेनले छक्का प्रहार गरी लुम्बिनीलाई पाँचौँ जित दिलाए । १९ औँ ओभरमा सन्दीप जोराले श्रीलंकन खेलाडी इसरु उडानालाई लगातार दुई छक्का प्रहार गरी खेल लुम्बिनीतर्फ मोडेका थिए ।

यो जितका साथ लुम्बिनीले ११ अंकका साथ अंकतालिकामा शीर्ष स्थानमा रहँदै लिग चरण पूरा गरेको छ ।

हारपछि विराटनगर भने ६ अंकमा सीमित रहँदै प्लेअफ पुग्न असफल भएको छ । लुम्बिनीको यो जितले ८ अंक रहेको काठमाण्डु गोर्खाज र ७ अंक रहेको चितवन राइनोज एक एक खेल बाँकी रहँदै प्लेअफमा पुगेका छन् । तर शीर्ष दुईमा कुन टिम पुग्छ भन्ने टुंगो लागेको छैन । भोलि हुने काठमाण्डु र पोखरा एभेन्जर्सबीचको खेलपछि शीर्ष दुईमा रहने टिमको टुंगो लाग्नेछ । यदि काठमाण्डुले जितेमा काठमाण्डु दोस्रो स्थानमा उक्लिनेछ भने अहिले दोस्रो स्थानमा रहेको सुदूरपश्चिम तेस्रो स्थानमा झर्नेछ ।