एनपीएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

एनपीएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा


काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीका लागि निरोशन डिकवेलाको अर्धशतकीय इनिङ्स खेले । डिकवेला ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५९ रनमा अविजित रहे । रोहित पौडेलले २८ बलमा एक चौकासहित २१ रन बनाए । डार्सी शर्ट खाता नखोली आउट हुँदा आसिफ शेखले ४ रन बनाएका थिए ।

सुदूरपश्चिमका थारिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक–एक विकेट लिए ।

यसअघि यसअघि लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ३ चौका र एक छक्कासहित ५२ रन बनाए ।

इशान पाण्डेले ३३ बलमा २७ रन बनाए । उनी १४.१ ओभरमा रनआउट भए । थारिन्दु रत्नायके १ रनमा आउट भए । विनोद भण्डारीले ३ र थनुका दबारेले ३ रन बनाए भने जर्ज मन्से पहिलो बलमै आउट भएका थिए ।

लुम्बिनी लायन्सका रुबेन ट्रम्पेलम्यान र शेर मल्लले समान २-२ विकेट लिए ।

ट्रम्पेलम्यानले ४ ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । शेर मल्लले ४ ओभरमा २७ रन दिएर दुई विकेट हात पारे ।

त्यस्तै, अभिषेक गौतमले ४ ओभरमा ११ रन खर्चेर एक विकेट लिए । किशोर महतोले एक विकेट हात पारे ।

लुम्बिनीले दोस्रो संस्करणको उपाधि जितेको थियो । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी पहिलो पटक च्याम्पियन बनेको थियो । तेस्रो संस्करणमा पनि फाइनल पुगेपछि लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।