प्रधानमन्त्री वालेनको भारत भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत

प्रधानमन्त्री वालेनको भारत भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णयमा ‘प्रधानमन्त्री वालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने’ उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते (नोभेम्बर २२ र २३) दुईदिने भारत भ्रमणमा जान लागेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजनासमेत गर्नेछन् ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय

–२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

–चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।

–अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

–राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।

–ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।

–राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।