अमेरिकाले ६ महिनामा चीनलाई ९ लाख एआई चिप निर्यात गर्न दियो अनुमति

अमेरिकाले ६ महिनामा चीनलाई ९ लाख एआई चिप निर्यात गर्न दियो अनुमति


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्मको ६ महिनाको अवधिमा चीनका कम्पनीहरूलाई एनभिडिया र एएमडीले उत्पादन गरेका झन्डै ९ लाख उन्नत एआई चिप निर्यात गर्न अनुमति दिएको अमेरिकी प्रतिनिधिसभाको विदेश मामिला समितिले जनाएको छ ।

समितिका अनुसार अमेरिकी वाणिज्य मन्त्रालयले ८ लाख ७९ हजार चिप निर्यातका लागि अनुमति दिएको थियो । त्यसमध्ये अलिबाबाका लागि ७५ हजार, टेन्सेन्टका लागि १ लाख ५० हजार, बाइडुका लागि ४३ हजार र बीवाईडीका लागि ४ हजार चिप निर्यात गर्न स्वीकृति दिइएको थियो ।

समितिले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा चीनमा ३४ लाख चिप पठाउन अनुमति मागिएको थियो ।

एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँगको सम्बन्ध सार्वजनिक भएपछि अमेरिकी प्रशासनमाथि चीनको प्रविधिगत चुनौतीप्रति कडा नीति अपनाउन दबाब बढिरहेका बेला चिप निर्यातसम्बन्धी अनुमति विवरण सार्वजनिक गरिएको हो ।

समितिको प्रतिवेदनमा उल्लेख गरिएका चारवटै चिनियाँ कम्पनी पेन्टागनले चिनियाँ सेनासँग सम्बन्धित रहेको आरोप लगाएका कम्पनीको सूचीमा छन् ।

समितिका अध्यक्ष ब्रायन मास्टले ‘निर्यात नियन्त्रण सुधार ऐन’ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै एनभिडिया र एएमडीका एआई चिप चीन निर्यात गर्न दिइएका अनुमतिसम्बन्धी विवरण सार्वजनिक गरेको समितिले विज्ञप्तिमार्फत जनाएको छ ।

यद्यपि, अनुमति दिइएका चिपमध्ये कति वास्तवमै चीन पठाइए भन्ने तत्काल स्पष्ट भएको छैन । निर्यातका लागि अनुमति दिइएका चिपमा एनभिडियाको एच२०० र एएमडीको सोही स्तरको एमआई३२५एक्स चिप पनि छन् ।

ह्वाङसँग सम्बन्धित समाचारले एनभिडियाका एआई चिप चीनमा तस्करी हुँदा पनि त्यसविरुद्ध कारबाही नभएका घटनालाई चर्चामा ल्याएको छ । यसले चीनको प्रविधिगत चुनौती नियन्त्रण गर्न ट्रम्प प्रशासनमाथि दबाब थपेको छ ।

अमेरिकी पूर्वअधिकारी तथा अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाका जानकार क्रिस म्याकग्वायरले चीन पठाइएका एआई चिपमध्ये ३० प्रतिशतभन्दा बढी अमेरिकी रक्षा मन्त्रालयले चिनियाँ सैन्य कम्पनीका रूपमा सूचीकृत गरेका कम्पनीमा पुगेको विषय आश्चर्यजनक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यसले चिप निर्यातको अनुमति दिनुअघि वाणिज्य मन्त्रालयले राष्ट्रिय सुरक्षासम्बन्धी गम्भीर समीक्षा गरेको थियो कि थिएन भन्ने प्रश्न उठाएको छ ।’

एनभिडियाले भने स्वीकृति दिइएका निर्यात ‘कडा सर्त र सीमित परिमाण’ मा आधारित रहेको जनाएको छ । कम्पनीले केही निर्यात अनुमति पाए पनि त्यसपछि चीनमा एच२०० चिप पठाउन बन्द गरिसकेको स्पष्ट पारेको छ ।

एएमडीले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले चीनले अत्याधुनिक एआई चिप प्राप्त गर्दा उसको सैन्य क्षमता बढ्ने र कृत्रिम बौद्धिकतामा अमेरिकाको अग्रता कमजोर हुने भन्दै चीनको पहुँचमा प्रतिबन्ध लगाएका थिए ।

तर ट्रम्पले गत डिसेम्बरमा एनभिडियालाई आफ्नो एच२०० चिप चीन निर्यात गर्न अनुमति दिएका थिए । यससँगै उनले बाइडेन प्रशासनले लगाएका प्रतिबन्ध खुकुलो बनाएका थिए । उनको यो निर्णयलाई अमेरिकी राजनीतिक वृत्तमा चीनप्रति कडा नीति अपनाउनुपर्ने पक्षधरहरूले चर्को आलोचना गरेका थिए ।

यसैबीच, अमेरिकी सेयर बजारमा एनभिडियाको सेयर मूल्य ३.३ प्रतिशतले घटेको छ । एएमडीको सेयर मूल्यमा ७.७ प्रतिशतको गिरावट आएको छ । समग्रमा नास्डाक २.२ प्रतिशत र एस एन्ड पी ५०० सूचक १.८ प्रतिशतले घटेका छन् ।