काठमाडौं । लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै रकम माग्न पुगेका एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार अध्यक्ष शाहीले बिहीबार गाउँपालिकाकै एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेका थिए । चंखेली गाउँपालिका–४ निवासी सिंह विगत ५–६ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका थिए ।
लामो समयदेखि पारिश्रमिक नपाएपछि रकम माग्न अध्यक्ष शाहीकहाँ पुगेका बेला उनी कुटपिटमा परेको बताइएको छ ।
कुटपिटबाट घाइते भएका सिंहलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया