काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर प्राथमिक तहको शिक्षक बनेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले बाराको सुवर्ण गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार यादवले शिक्षण पेसामा प्रवेश गर्दा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटना (भारत) बाट जारी भएको देखिने इन्टरमिडिएट तह अर्थात् आईए तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए ।
उनले उक्त प्रमाणपत्र पेस गरी अभिलेखमा राखेर राष्ट्रसेवकका रूपमा प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिएको र सोही पदबाट प्राप्त हुने लाभ तथा सुविधा उपभोग गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।
यादवले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी राष्ट्रसेवकको हैसियतमा लाभ लिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार सजाय मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया