प्रधानमन्त्री वालेन शाह नयाँ दिल्लीमा

प्रधानमन्त्री वालेन शाह नयाँ दिल्लीमा


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

नेपाल वायुसेवा निगमको नियमित उडान नम्बर आरए २१७ मार्फत आइतबार दिउँसो ३ः३५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जीतिन प्रसादले स्वागत गरेका थिए ।

प्रधानमन्त्री शाहको स्वागतका लागि भारतका लागि नवनियुक्त नेपाली राजदूत निश्चल पाण्डेसहित नेपाली दूतावासका अधिकारी तथा नेपाल वायुसेवा निगमका कर्मचारी पनि विमानस्थल पुगेका थिए । सो अवसरमा सांस्कृतिक टोलीले नृत्य प्रस्तुत गरी प्रधानमन्त्री शाहको स्वागत गरेको थियो । दिल्लीमा रहेका नेपाली समुदायका केही प्रतिनिधिले पनि विमानस्थलमा पुगेर उनलाई स्वागत गरेका थिए ।

विमानस्थलबाट प्रधानमन्त्री शाह मध्यदिल्लीस्थित ताजमहल होटल पुगेका छन् । उनले आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहसँग ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल र ५१ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल पनि भारत भ्रमणमा छन् । व्यावसायिक प्रतिनिधिमण्डलले आइतबार साँझ सोही होटलमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त वार्तामा नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।