दानबहादुरको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

दानबहादुरको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चले गर्‍यो अस्वीकार


काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा तत्काल पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै सरकारले आईजीपीमा नियुक्त गरेका डा. मनोजकुमार केसीलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म काम गर्ने बाटो खुलेको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार कार्कीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । इजलासले कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय कानुनसम्मत भए–नभएको विषयमा अन्तिम फैसलाका क्रममा निरूपण हुने जनाएको छ ।

सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो । उनको स्थानमा एआईजी डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरिएको थियो । केसीले सोही दिन दर्ज्यानी चिह्न लगाएर कार्यभार सम्हालेका थिए ।

सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्की कात्तिक २० गते सर्वोच्च अदालत पुगेका थिए ।

अन्तरिम आदेश जारी नभएसँगै तत्कालका लागि केसीकै नेतृत्वमा नेपाल प्रहरी अघि बढ्नेछ । अब कार्कीलाई आईजीपीबाट हटाउने सरकारको निर्णय बदर हुने वा सदर हुने भन्ने विषय मुद्दाको अन्तिम फैसलाबाट टुंगो लाग्नेछ ।