पूर्वमुख्यसचिव अर्याललाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याइयो

पूर्वमुख्यसचिव अर्याललाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याइयो


काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकाताबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार उनलाई केहीबेरअघि काठमाडौं ल्याइएको हो । स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएका अर्याललाई हवाईमार्गबाट काठमाडौं ल्याइएको स्रोतले जनाएको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि उनलाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो । अहिले उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

मलेसियामा नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।

यस प्रकरणमा यसअघि तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।

उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सोही प्रकरणको अनुसन्धानका क्रममा पूर्वमुख्यसचिव अर्याललाई पनि पक्राउ गरिएको हो ।