दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोडको कारोबार


काठमाडौं ।

सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा पुनरवलोकन गर्ने भएपछि गत बिहीबार ४४ अंकको उच्च वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ । लगातार कारोबार ३ दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो।

आइतबार नेप्सेमा लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १.९८ प्रतिशतले गिरावट भएको छ । यस्तै व्यापार र हाइड्रोपावर उपसूचक १.८१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । गत बिहिबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार २ अर्ब ३२ करोड ६९ लाखको कारोबार भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भएको छ ।

लाभांश बुक गर्ने अन्तिम कारोबार दिन भएकोल बैंकको सेयर कारोबारमा चाप देखिएको हो । यस्तै सन् नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७४ लाख र शिवम् सिमेन्टको ९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।

आइतबार कारोबार भएकामध्ये स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ९.७३ प्रतिशतले बढेको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नबिल ब्यालेन्स फण्ड २ को इकाइमूल्य ५.४५ प्रतिशत र मायाखोला हाइड्रोपावरको सेयरमूल्य ५.३७ प्रतिशतले गिरावट भएको छ ।