कृषि सडक ट्रयाक निर्माण भएको ८ वर्षपछि स्तरोन्नति सुरु

कृषि सडक ट्रयाक निर्माण भएको ८ वर्षपछि स्तरोन्नति सुरु


म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको ठुलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्रयाक निर्माण भएको ८ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ ।

बेनी–दरबाङ सडकखण्डअन्तर्गत सिंगाको ठुलोखोलादेखि वडा–४ र ५ का ग्रामीण बस्ती जोड्ने सिंगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान पुग्ने सडकको स्तरोन्नति सुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक आयोजनाअन्तर्गत सडक स्तरोन्नति सुरु गरिएको वडा–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।

प्रदेश निर्वाचन क्षेत्र–१ का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा कृषि सडक स्तरोन्नतिमा छनोट भएको यस आयोजनाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

गत असार २१ मा पूर्वाधार विकास कार्यालय, म्याग्दीसँग ठेक्का सम्झौता गरेको मुक्तिनाथ हाइवे÷कालीगण्डकी निर्माण जेभीले सडक मर्मत अघि बढाएको छ ।

२०७२ सालमा सडकको ट्रयाक निर्माणले पूर्णता भएको भए पनि यस वर्षदेखि आयोजनाकै रूपमा सडक स्तरोन्नति थालिएको वडाध्यक्ष खड्काले जानकारी दिए ।

आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जनशक्ति, मेसिन, उपकरण र निर्माण सामग्रीको परिचालन गरिएको कम्पनीको भनाइ छ ।

अहिले सिस्नेरी– बाँजगरा क्षेत्रको उकालो र कठिन घुम्तीमा सडक ढलानको काम भइरहेको छ । ठुलो खोला र अँधेरीखोला क्षेत्रमा समेत सडक ढलान गरिनेछ ।

निर्माण कम्पनीले सडक ढलानको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार चालु आवमा सडकखण्डको विभिन्न स्थानमा करिब १६० मिटर सडक ढलान गरिनेछ । त्यसैगरी ७४१ घनमिटर ग्याबिन जाली लगाउने र ३९ घनमिटर पक्की पर्खाल निर्माण गरिनेछ ।

यस सडकखण्डका केही स्थानमा गत वर्ष बेनी नगरपालिकाले समेत गौरवको योजनाका रूपमा बजेट विनियोजन गरेर सडक ढलान गरेको थियो । नगरपालिकाले ३८ लाख रुपैयाँ बजेटबाट राजकुलो –कुटीडाँडा–धुविबोट हुँदै पख्रेलटोल जाने बाटोमा करिब ८५ मिटर सडक ढलान गरिएको थियो ।

सडक स्तरोन्नति योजनाको गण्डकी प्रदेशसभा सदस्य भण्डारी, वडाध्यक्ष खड्का लगायतले टोलीले स्थलगत अनुगमन, निरीक्षण र अवलोकन गरेका छन् ।

योजनाको अनुगमान गर्दै प्रदेशसभा सदस्य भण्डारीले सडक साँघुरो रहेको ठाउँ र घुम्तीमा सडकलाई फराकिलो बनाउन र योजनालाई गुणस्तरीय बनाउन निर्माण व्यवसायी र प्राविधिकलाई निर्देशन दिए ।

उनले सडकको शून्य विन्दुबाट नै सडकलाई फराकिलो बनाउँदै ग्रेड र घुम्तीलाई सुधार गर्दै सडकलाई स्तरोन्नति गर्न आग्रह गर्दै आगामी वर्षसमेत यस योजनामा थप बजेटको लागि पहल गर्ने बताए ।