भिजन लुम्बिनीको आइपिओमा १३ लाख ६८ हजार कित्ता आवेदन पर्यो

भिजन लुम्बिनीको आइपिओमा १३ लाख ६८ हजार कित्ता आवेदन पर्यो


कास्की ।

सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक शेयर (आइपिओ) मा १३ लाख ६८ हजार एक सय ५० कित्ता शेयर आवेदन परेको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि गत भदौ १९ गतेदेखि प्राथमिक शेयर जारी गरेको थियो । असोज १७ गते (हिजो) अन्तिम दिन रहेकामा १३ करोड ६८ लाख १५ हजार बराबरको आवेदन परेको कम्पनीले जनाएको छ ।

प्रभावितका लागि जारी गरिएको आइपिओमा तोकिएको सङ्ख्याभन्दा ५ लाख ४४ हजार तीन सय ५० कित्ता न्यून आवेदन परेकाले प्रक्रिया पूरा गरेका सबैले शेयर प्राप्त गर्ने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनका अनुसार आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिका–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीय बासिन्दाका लागि शेयर जारी गरेको थियो ।

कम्पनीको आइपिओमा आस्वाबाट ६३९ जनाले ५ लाख ६७ हजार २२० कित्ता र भौतिक उपस्थित भएर ८७९ ले ८लाख ९३० कित्ता आवेदन गरेका छन् ।

भिजन लुम्बिनीले आफ्नो जारी पूँजी एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले जानकारी दिए ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको शेयर को १० प्रतिशतले एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्काशन गरी असोज १५ गते बाँडफाँड गरिएको छ । कम्पनीले आइपिओ  निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो ।