पहिरोले किम्रोङखोला थुनियो

पहिरोले किम्रोङखोला थुनियो


कास्की ।

अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ ।

अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए ।

उनका अनुसार आज बिहान ११ बजेदेखि खोलामा पानी बग्न सुरु भए पनि जोखिम भने कायमै छ ।

‘गएराति किम्रोङखोला पहिराले थुनिएको हो, अहिले १५ घन्टापछि खोलामा पानी बिस्तारै बग्न थालेको छ, एक्कासि फुटेमा क्षति हुने सम्भावना भएकाले सबैलाई सुरक्षित रहन खबर गरेका छौँ,’ उनले भने ।

किम्रोङखोला वडा नं ७ र ११ को सिमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ । मोदी खोला आसपासका अन्नपूर्णका वडा नं ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरूलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए ।

सम्बन्धित वडाका जनप्रतिनिधि र बिरेठाँटी तथा नयाँपुलमा रहेको प्रहरी चौकीमा खबर गरी नदी थुनिएको जानकारी सबैमा प्रेषित गरिएको उनले जानकारी दिए ।