यसकारण फरक हुन्छ मेरो दसैँ !

यसकारण फरक हुन्छ मेरो दसैँ !


दसैँको बेला प्रायः सबैको घरमा राम–रमाइलो, विभिन्न प्रकारका मिष्ठान्न पक्कै पनि पाक्ने गर्छ । दसैँको बेला मासु खानु, घरका परिवार मिलेर रमाइलो गर्नु अनि काठमाडौँबाट घर जान पाउनु, त्यो मेरा लागि सबैभन्दा खुसीको क्षण हो ।

दसैँमा मेरो घरमा छुट्टै खालको रमाइलो हुन्छ । प्रायः गरेर फूलपातीको दिनदेखि अरूकोमा दसैँ सुरु हुन्छ । तर, हाम्रोमा अष्टमीबाट दसैँको रौनक सुरु हुन्छ ।

मेरो घरको दसैँको कुरा गर्नुभन्दा पहिला मेरो परिवारको बारेमा केही भनौँ । मेरो घर उदयपुरको बेलका नगरपालिका–९ मा पर्छ । म त्यहीँ जन्मिएको भएकाले पनि मलाई मेरो गाउँ निकै नै सुन्दर लाग्छ र गाउँ पुग्दा छुट्टै आनन्द पनि आउँछ ।
मेरो घरको छेउमै छ मेरो मामाघर पनि । करिब ५ मिनेट टाढा । त्यहाँ मेरो मात्र होइन, मेरो सानिमाको र मामाहरूको घर पनि करिब ५ मिनेटको दुरीमै छ । जहाँ वर्षौंदेखि हामी सबै एउटै परिवारका रूपमा बसेका छौँ ।

दसैँ सुरु हुनुभन्दा अगाडि मावलमा एउटा बैठक बस्छ । जहाँ मेरी ममी, साइँली सानिमा, कान्छी सानिमा, माइला मामा, कान्छा मामा र (पहिले मावलको हजुरबुबा, जो अहिले हाम्रो साथमा हुनुहुन्न) बसेर छलफल हुन्छ– अष्टमीको दिन पहिले कसको घरमा खसी काट्ने भनेर । त्यो बैठकले तय गर्छ कि कसको घरमा कसरी दसैँको तयारी गर्ने भन्ने कुरा ।

त्यो बैठकको निर्णय हामी घर पुग्नुभन्दा अघि नै भइसकेको हुन्छ । हामी घर पुग्नेबित्तिकै हामीले थाहा पाउँछौँ– पहिले कसको घरबाट दसैँको ‘सेलिब्रेसन’ सुरु हुन्छ भनेर । प्रायः गरेर दसैँको सुरुवात मेरै घरबाट हुने गरेको छ । अनि हामी सबै जना फूलपाती वा केही दिनअघि घरमा पुग्ने गर्छौं । अनि सुरु हुन्छ– दसैँको रोनक ।

अष्टमीको दिन बिहान मेरो घरको तयारी चल्छ । बिहान उठ्नेबित्तिकै बजार जाने, मेरो त्यो ठेक्काजस्तै हो । जहाँबाट मैले दूध, टमाटर र घरमा चाहिने अन्य सामान ल्याउनुपर्छ । मैले सामान लिएर आउँदासम्म घरमा खसी काट्ने तयारी भइसकेको हुन्छ । अनि मेरो घरमा मामाहरू, सानोबुबाहरू, सानिमा, माइजूहरू, भाइ–बहिनी, दाजु–दिदी मेरो घरमा आउन सुरु हुन्छ ।

त्यस दिन मावल (कान्छा मामा पनि), साइँली सानिमा, कान्छी सानिमा, माइला मामा कसैको घरमा बिहानको खाजा–खाना पाक्दैन । सबैजना एकै ठाउँमा भेला हुने चलन छ । मामा, बाबा, दाजुहरू, भाइहरू मिलेर हामी खसी बनाउन लाग्छौँ । ममी, माइजूहरू, सानिमाहरू, दिदी–बहिनीहरू मिलेर पकाउने तयारी थालिन्छ । के–के र कस्तो कस्तो मिष्ठान्न बनाउने भनेर ममीको आग्रहले तय हुन्छ ।

खसी काटेर तयार गर्दासम्म बिहान करिब ८ देखि ९ बजिसकेको हुन्छ । अनि तयार हुन्छ– हाम्रो पहिलो चरणको खाजा । जहाँ भुटनसहित चिउरा तयार हुन्छ । त्योसँगै कोक–फेन्टा, ड्यूलगायत पेय पदार्थ पनि हुन्छन् ।

लगभग खाजा तयार हुँदासम्म ५ घरका सबै परिवार आइपुगिसक्नुहुन्छ । अनि खाजासँगै हाम्रो तास खेल सुरु हुन्छ । जहाँ हामी विशेष गरी जुटपत्ती खेल्ने गर्छौं । मलाई अरू पनि १–२ वटा खेल त आउँछ, तर दिदी र बहिनीहरूलाई नआउने भएकाले हामी जुटपत्ती नै खेल्ने गर्छौं ।

हाम्रो तास खेलको उद्देश्य मनोरञ्जन मात्र हुन्छ । हाम्रो नियम पनि भिन्न छ । सबैले ५–५ रुपैयाँ बोट जम्मा गरिन्छ । खेल जित्नेले त्यो सबै पैसा लान पाउँदैन । जसले जित्छ, उसले त्यहाँबाट ५ रुपैयाँ मात्र लान पाउँछ । त्यसरी एक पटक राखेको बोटले ५–६ पटक खेल्न पुग्छ । त्यसबीचमा एक पटक मात्र पनि जितियो भने अर्को ५–६ पटक खेल्नलाई त्यही पैसाले पुग्छ ।
हाम्रो परिवारमा करिब ४०–५० जना जति हुन्छौँ । त्यसले गर्दा पनि त्यहाँ तास खेल्ने ग्रुप–ग्रुप हुन्छ । मामाहरू, सानोबुबाहरू, दाइहरूसँग मिलेर हामी अर्को ग्रुपमा पनि खेल्ने गछौँ । जहाँ हामी दहलमारा, कलब्रेक खेल्ने गर्छौं । त्यहाँ मस्ती मजाक, गफगाफ पनि चल्ने गर्छ । करिब धेरैले एक वर्षमा एक–अर्कालाई भेटेका हुन्छौँ । सबैले के गरिरहेका छन् । काम र पढाइका विषयमा पनि गफगाफ हुन्छ ।

त्यही क्रममा करिब १२–१ बज्छ । अनि हाम्रो खाना खाने बेला हुन्छ । खाना खानलाई हामी सबैजना एकसाथ बस्छौँ । खाना सकिएपछि साइँली सानिमाकोमा मेरो घरमाझैँ गरेर बेलुकाको लागि तयारी हुन्छ । केहीबेर आराम गरेर फेरि हाम्रो सबै परिवार साइँली सानिमाकोमा लाग्छौँ । त्यसरी नै बेलुकाको खाना खाएर हामी आ–आफ्नो घर लाग्छौँ ।

नवमीको दिन बिहान मावलमा त्यही प्रक्रिया सुरु हुन्छ । मामलामा पनि त्यसरी नै भेला भएर हामी रमाइलो गर्छौं । अनि बेलुका कान्छी सानिमाकोमा त्यसरी नै भेला हुन्छौँ । अनि त्यहाँ पनि बेलुकाको खानपिन हुन्छ । अरू प्रक्रिया पहिले अरू घरको जस्तै ।

दशमीको दिन बिहान टीकाको तयारी सुरु हुन्छ । घरमा साइतको टीका लगाउनेबित्तिकै हामी सीधै मावलतिर लाग्छौँ । मावलमा सबै घरका परिवार भेला भएर रोलक्रमअनुसार टीका लगाउने कार्यक्रम चल्छ । त्यसपछि केहीबेर फोटो सेसन चल्छ । माइजूहरूले हामी सबैका लागि बिहानको खाना तयार पार्नुभएको हुन्छ । हामी त्यहीँ खाना खान्छौँ । त्यसपछि टाढा–टाढा भएका आफन्तकोमा टीका लगाउन जानेहरू जानुहुन्छ । म पनि अन्य आफन्त र साथीभाइसँग भेट्न निस्कन्छु ।

वर्षभरि पर्खिएर, १०–१५ दिनअघि टिकट काटेर छुट्टै रौनक र उत्साह बोकेर गाउँ फर्किएको मेरो दसैँ यसैगरी सकिन्छ । अनि सुरु हुन्छ…
… उही त हो– काठमाडौँ जानुपर्छ, टिकट पाउँछ कि पाउँदैन, फेरि कामको तनाव । फेरि अर्को दसैँ यसैगरी मनाउने कल्पनासहित झोला बोकेर केटो चढ्छ– काठमाडौँको नाइट बस…