अब चेकजाँचमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने

अब चेकजाँचमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने


काठमाडौं ।

अब सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।

यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको केन्द्रका एक अधिकारीले बताए ।

ट्राफिकले जाँचका क्रममा कारवाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्सले काम नगर्ने तर, सक्कल लाइसेन्स नबोकेको अवस्थामा देखाउनका लागि मात्रै हो भने मिल्ने भएको छ ।

सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लंघनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदैछ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ ।

सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।