आइपिओ ल्याउदै नेपाल वेयरहाउजिङ, कहिले बाट ?

आइपिओ ल्याउदै नेपाल वेयरहाउजिङ, कहिले बाट ?


काठमाडौँ ।

नेपाल वेयरहाउजिङ कम्पनीले आगामी मंसिर १० गतेबाट सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आइपिओ बिक्री गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरि बाँडफाँट गरिसकेको छ।

त्यस्तै कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। कम्पनीले बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरु मंसिर १० गतेदेखि बिक्री गर्न लागेको हो।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा मंसिर १३ गते हुनेछ भने ढिलोमा मंसिर २४ गतेभित्र हुनेछ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ। आइपिओ निष्कासन गर्न गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।