वृद्धाको कानबाट सुन लुट्ने गिरी पक्राउ

वृद्धाको कानबाट सुन लुट्ने गिरी पक्राउ


लमजुङ ।

प्रहरीले लमजुङमा वृद्धाको कानबाट सुन लुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दोर्दी गाउँपालिका १, भारते एक्लेखेतका ३५ वर्षीय सन्तोष गिरीलाई नियन्त्रणमा लिएको हो ।

कात्तिक २८ गते गोवर्द्धन पूजाको राति छिमेकी ८५ वर्षीया विष्णुकुमारी थापाको कानको लोती चुँडाएर सुन लुटेको आरोपमा गिरीलाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

लुटिएको सुन बरामद हुन नसकेपछि पीडित परिवारले ती युवकविरुद्ध अभद्र व्यवहार गरेको अरोप लगाउँदै जाहेरी दिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कान्छो छोरा काठमाडौं रहेकाले वृद्धासँग बस्दै आएकी बुहारी तिहारमा काठमाडौं गएकी थिइन् । वृद्धाको साथीका रूपमा उनकी कान्छी बहिनी आएकी थिइन् ।

कान्छी बहिनी खोपीमा सुतेको र घरभित्र सुतेको अवस्थामा वृद्धा लुटिएको थियो । कानको रिङ तान्ने क्रममा ती वृद्धाको बायाँ कानको लोती चुँडिएको प्रहरीले जनाएको छ । दायाँ कानको लोती पनि आधा चुँडिएको प्रहरीले बताएको छ ।