वेयरहाउजिङ कम्पनीको आइपिओ खुला, कहिले सम्म दिन सकिन्छ आवेदन ?

वेयरहाउजिङ कम्पनीको आइपिओ खुला, कहिले सम्म दिन सकिन्छ आवेदन ?


काठमाडौं ।

सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आइपिओ)मा आवेदन खुलेको छ ।

मंसिर १३ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत बाँडफाँट गरिसकेको छ ।

अब ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
इच्छुक सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् ।

आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालु आर्थिक वर्षबाट भने नाफामा जाने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्म कम्पनीको सञ्चित नोक्सान ७ करोड ९४ लाख रुपैयाँ बराबर छ । कम्पनी चालु आर्थिक वर्ष २०८०/८१ मा पनि सञ्चित नोक्सानी कायम रहेन प्रक्षेपण गरेको छ । चालु वर्षको असार मसान्तसम्म सञ्चित नोक्सानी ४ करोड ९५ लाख रुपैयाँ रहने अनुमान छ ।

गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ५५ पैसा छ । परियोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि ९।२९ वर्ष रहने अनुमान छ ।