६.५५ अङ्कले बढ्यो नेप्से

६.५५ अङ्कले बढ्यो नेप्से


काठमाडौँ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ५५ अङ्कले उकालो लागेर एक हजार ९९४ दशमलब ६० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य छ अङ्कले उकालो लागेर ३७६ दशमव ३६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कूल ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ४ लाख ७८ हजार ४३१ रुपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ११ करोड ४९ लाख ८८ हजार ७९१, हाथवे इन्भेस्टमेन्ट ९ करोड १३ लाख ७९ हजार ८३५, शिवम् सिमेन्ट ९ करोड १२ लाख १९ हजार ७५८ र आइएमई लाइफ इन्स्योरेन्स ७ करोड ७५ लाख ८४ हजार ३१२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया र नेपाल इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, गुराँस लघुवित्त चार दशमलव ९८, मानुषी लघुवित्त चार दशमलव ७८, सिवाइसी नेपाल लघुवित्त ४ दशमलव ०४, माछापुच्छ्रे बैंकको ऋणपत्र ३ दशमलव ९६ र ग्लोबल आइएमई ब्यालेन्सका शेयर मूल्य ३ दशमलव ७५ प्रतिशतले घटेको छ ।