काठमाडौं महानगरले सूचना प्रविधि सम्मेलन गर्ने

काठमाडौं महानगरले सूचना प्रविधि सम्मेलन गर्ने


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आगामी चैत महिनामा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ ।

सम्मेलनमा शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न प्रयोग भइरहेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालय बीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तारबारे प्रस्तुतिकरण तथा छलफल हुने महानगरको सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरले जानकारी दिए ।

‘महानगरवासीलाई सरल, सहज र अनुमान योग्य सेवा प्रदान गर्न अत्याधुनिक आविष्कार, नवीनतम सोच र प्रविधिलाई सम्मेलनमा कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने तयारी गरेका छौं,’ मानन्धरले भने ।

अहिले महानगरले डिजिटल सिग्नेचरसहितको सेवा प्रयोगमा ल्याइसकेको छ । कतिपय सेवाका लागि प्रणाली परीक्षण भइरहेको भन्दै उनले जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न महानगरले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवर्द्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न महानगरपालिकाले नीति, योजना र कार्यक्रम बनाउनु पर्ने बताए ।

‘सम्मेलनले दिएको निचोड र सिफारिसहरु, काठमाडौंका जनता र नागरिकहरूलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ,’ उनले भने ।

महानगरका सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले सम्मेलनबाट प्राप्त प्राज्ञिक तथा उपयोग योग्य प्रविधिले महानगरपालिकाको मात्र होइन, समग्र सरकारी कार्य प्रणालीलाई रुपान्तरण गर्ने बताए ।

प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावना जस्ता विषयमा विशेषज्ञ र साझेदारहरु बीच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका क्रियाकलापमा समेटिने काफ्लेले बताए । चैत महिनामा सम्मेलन गर्ने निर्णय भएपनि मिति भने तय भइनसकेको महानगरले जनाएको छ ।